मलेखु (धादिङ)। पृथ्वी राजमार्ग विस्तारको काममा सडक छेउमा रहेका बिजुलीका पोल मुख्य अवरोध बनेका छन्। पोल स्थानान्तरणमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको हो।
नेपाल विद्युत् प्राधिकरण ले पोल सार्ने काम समयमै नगर्दा नागढुंगा–मुग्लिन सडक आयोजना अन्तर्गतको पूर्वी खण्डमा निर्माण कार्य सुस्त भएको छ। विशेषगरी नौबिसे–धार्के, गल्छी गाउँपालिकाका बन्छेटार, जरेखेत, बेल्खु तथा गजुरी गाउँपालिकाका घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासका क्षेत्रमा काम प्रभावित भएको छ।
आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझा का अनुसार पोल नसारिँदा कतिपय स्थानमा काम रोक्नुपर्ने अवस्था आएको छ। कतै पोल छाडेर वरिपरि मात्र कालोपत्र गरिएको छ भने कतै ग्राभेल बिछ्याएर काम अधुरै छाडिएको छ। यसले सडकमा दुर्घटनाको जोखिमसमेत बढाएको छ।
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश बीच पोल सार्ने खर्च आयोजनाले व्यहोर्ने सहमति भए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। प्राधिकरणले ठेकेदारमार्फत काम गराइरहेको भए पनि ढिलासुस्ती देखिएको जनाइएको छ।
पूर्वी खण्डमा सार्नुपर्ने करिब ५०० पोलमध्ये अझै करिब १०० पोल बाँकी रहेका छन्, जसका कारण मुख्य निर्माण कार्य प्रभावित भइरहेको ओझाले बताए।
यता प्राधिकरणका इन्जिनियर शेरबहादुर सुनार ले भने काम जारी रहेको र ढिलाइ नभएको दाबी गरेका छन्।
निर्माण निकायहरूबीच समन्वय अभाव र ठेकेदारको ढिलाइका कारण राष्ट्रिय महत्वको यस आयोजनामा अवरोध देखिँदै आएको छ, जसले यात्रुलाई समेत जोखिममा पारिरहेको छ।