काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा फर्किएर बढेको हो। कारोबार सुरु हुँदा करिब २० अंकले बढेको नेप्से मध्यसमयमा सामान्य अंकले घटेको भए पनि कारोबार बन्द हुँदा ४.९० अंकले बढेर २६३९.९१ पुगेको छ।
नेप्सेमा कारोबार रकममा पनि सुधार देखिएको छ। सोमबारको तुलनामा मंगलबार करिब ५० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। कुल १ सय १८ कम्पनीको सेयर मूल्य बढ्दा समग्र बजार सूचक सकारात्मक रह्यो। विशेषगरी थ्रिस्टार जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशत र दोर्दीको ९.३८ प्रतिशतले बढेको छ।
तर बैंकिङ क्षेत्रको घट्दो ब्याजदर र सरल कर्जा भएको बाबजुद, राजनीतिक अस्थिरता र आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको अनिश्चितताका कारण लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा देखिएका छन्।
मंगलबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले बढेको छ। समूहगत सूचकमध्ये विकास बैंक ०.४१, जलविद्युत् ३४.२४, लगानी ०.०४, सामूहिक लगानी कोष ०.०८, निर्जीवन बीमा १०.७७, अन्य १८.३५ र व्यापार समूह ३६.३६ अंकले बढेका छन्। तर बैंकिङ १.९४, वित्त ७.०५, होटल ३४.१०, जीवन बीमा २२.१, उत्पादनमूलक २१.२१ र लघुवित्त समूह ९.९२ प्रतिशतले घटेका छन्।
मंगलबार ३ सय ४९ कम्पनीको ७७ हजार १७ कारोबारबाट ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। यो कारोबार रकम सोमबारको तुलनामा बढी रहेको छ, जुन ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको थियो।