काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापामाथि कडा कटाक्ष गरेका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूविरुद्ध प्रमाण रहेको दाबी गरिएको ६५८ दिन बितिसक्दा पनि केही देखाउन नसकेको भन्दै अब आफूलाई प्रमाण नचाहिने बताए।
आफ्नो कडा शैलीको बचाउ गर्दै उनले भने, ‘मलाई धेरै नबोल, तिखो नबोल भन्छन्, चर्को नबोल भन्छन् म परे रवि लामिछाने। अलिअलि नघोची हुँदैन। मलाई टुच्च टुच्च न घोचेची म पनि चुप लाग्थे नि। ठाउँ ठाउँबाट घोचिरहन्छन्। ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो। मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ। म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला।’
सभापति लामिछानेले आफूहरू मागेर नभई पौरख गरेर 'गरिखाने देश' बनाउने पक्षमा रहेको स्पष्ट पारे। उनले फागुन २१ को निर्वाचनमार्फत नै सबै प्रहारको जवाफ दिने संकल्प समेत व्यक्त गरेका छन्।